नेपालमा विद्युतीय सवारीसाधनमा आगलागी : प्रविधि कि प्रयोगकर्ताको ज्ञानको कमी?

नेपालमा विद्युतीय सवारीसाधनमा आगलागी : प्रविधि कि प्रयोगकर्ताको ज्ञानको कमी?

नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधन (EV) मा आगलागी भएका घटनाले गम्भीर प्रश्नहरू उठाएका छन्। यस्ता घटना हुनेबित्तिकै हामीमध्ये धेरैले यसको सम्पूर्ण दोष प्रविधिमाथि थोपर्ने गर्छौं तर के वास्तवमै विद्युतीय सवारीसाधन नै असुरक्षित हो? वा हामीले नयाँ प्रविधि प्रयोग गर्ने तरिका, हाम्रो ज्ञान र प्रशिक्षणमा पनि कमजोरी छ?

आजको विद्युतीय सवारीसाधन पहिलेका परम्परागत गाडीभन्दा निकै फरक छ।यसमा एक्सेलेरेटर, ब्रेक र क्लच (ABC) मात्र होइन, पुनःऊर्जा सञ्चय गर्ने ब्रेकिङ प्रणाली, विभिन्न ड्राइभिङ मोड, ब्याट्री व्यवस्थापन प्रणाली, ताप नियन्त्रण प्रणाली, इलेक्ट्रोनिक सुरक्षा प्रणाली, चालक सहायता प्रणालीलगायत धेरै आधुनिक प्रविधि प्रयोग भएका हुन्छन्।

त्यसैले विद्युतीय सवारीसाधन चलाउन सामान्य ड्राइभिङ लाइसेन्स र केही घण्टाको सुरक्षा प्रशिक्षण मात्र पर्याप्त हुँदैन। चालकले आफूले चलाउने सवारीसाधनका आधारभूत प्राविधिक पक्षसमेत बुझ्न आवश्यक हुन्छ।

  • ब्याट्री अत्यधिक तात्दा के हुन्छ?
  • चार्जिङ गर्दा के–कस्ता सावधानी अपनाउनुपर्छ?
  • ब्याट्रीमा समस्या आएको संकेत कसरी पहिचान गर्ने?
  • दुर्घटनापछि उच्च भोल्टेज प्रणालीसँग कसरी सुरक्षित व्यवहार गर्ने?
  • विभिन्न ड्राइभिङ मोडको सही प्रयोग कसरी गर्ने?
  • गाडीमा कुनै चेतावनी वा त्रुटि संकेत देखिएमा के गर्ने?

यी विषयमा चालकलाई पर्याप्त जानकारी हुनुपर्छ।

विद्युतीय सवारीसाधन चलाउने चालकलाई केवल सुरक्षा प्रोटोकल सिकाएर पुग्दैन; उसलाई आफूले चलाउने प्रविधिको आधारभूत ज्ञान पनि दिनुपर्छ।

यसमा सवारीसाधन आयातकर्ता र वितरकको जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण छ। गाडी बिक्री गरेपछि ग्राहकलाई केही मिनेटको सामान्य जानकारी दिएर मात्र जिम्मेवारी पूरा हुँदैन। नयाँ प्रविधि भएका सवारीसाधन खरिद गर्ने प्रत्येक ग्राहकलाई आवश्यक प्राविधिक जानकारी, चार्जिङसम्बन्धी सुरक्षा, आपत्कालीन अवस्थामा अपनाउनुपर्ने उपाय र सवारीसाधनका विशेष सुविधाबारे व्यवस्थित प्रशिक्षण दिनुपर्छ।

त्यसैगरी, विद्युतीय सवारीसाधन मर्मत गर्ने प्राविधिकहरूलाई पनि उच्च भोल्टेज प्रणाली, ब्याट्री व्यवस्थापन र विद्युतीय सुरक्षासम्बन्धी विशेष तालिम आवश्यक छ।

तर यहाँ अर्को पक्ष पनि उत्तिकै महत्वपूर्ण छ—हाम्रो अति-आत्मविश्वास।

कुनै नयाँ प्रविधि प्रयोग गर्न थालेको केही दिनमै त्यसको सम्पूर्ण ज्ञान प्राप्त हुन्छ भन्ने सोच अत्यन्त जोखिमपूर्ण हुन सक्छ। निर्माता कम्पनीले दिएको निर्देशन, प्राविधिकको सुझाव र तालिमलाई बेवास्ता गरेर आफूलाई सबै कुरा थाहा भएको ठान्नु दुर्घटनाको कारण बन्न सक्छ।

त्यसैले कुनै EV मा आगलागी भयो भने तुरुन्तै “विद्युतीय गाडी नै खराब रहेछ” भन्ने निष्कर्ष निकाल्नु वैज्ञानिक दृष्टिले सही हुँदैन।

सबैभन्दा पहिले अनुसन्धान हुनुपर्छ—

  • आगलागीको वास्तविक कारण के थियो?
  • ब्याट्रीमा प्राविधिक समस्या थियो?
  • चार्जिङ प्रणालीमा त्रुटि थियो?
  • तार वा विद्युतीय प्रणालीमा समस्या थियो?
  • सफ्टवेयर वा इलेक्ट्रोनिक प्रणालीमा खराबी थियो?
  • बाह्य कारणले सर्ट-सर्किट भएको थियो?
  • मर्मतसम्भारमा लापरबाही भएको थियो? वा सवारीसाधनको गलत प्रयोगका कारण घटना भएको थियो?

कारणको वैज्ञानिक र प्राविधिक अनुसन्धान नगरी प्रविधिलाई मात्र दोष दिनु पनि गलत हो र चालकलाई मात्र दोषी ठहराउनु पनि।

हामी यस्तो समयको प्रवेशद्वारमा छौँ, जहाँ हरेक नयाँ उत्पादन कृत्रिम बुद्धिमत्ता, सफ्टवेयर र अत्याधुनिक इलेक्ट्रोनिक प्रणालीसँग जोडिँदै गएको छ। तर प्रविधि जति छिटो विकास भइरहेको छ, त्यसलाई सही रूपमा बुझ्ने र प्रयोग गर्ने हाम्रो क्षमता पनि त्यही अनुपातमा विकास हुनुपर्छ।

“मलाई सबै थाहा छ” भन्ने मानसिकताले नयाँ प्रविधिको युगमा झन् ठूलो जोखिम निम्त्याउन सक्छ।

विद्युतीय सवारीसाधनको भविष्य रोक्ने होइन। बरु यसलाई सुरक्षित बनाउन आवश्यक ज्ञान, तालिम, प्राविधिक जनशक्ति र जिम्मेवार प्रयोगको संस्कार विकास गर्नुपर्छ।

प्रविधि आफैँ सुरक्षित वा असुरक्षित हुँदैन; त्यसको डिजाइन, गुणस्तर, मर्मतसम्भार, प्रयोगको तरिका, प्रयोगकर्ताको ज्ञान र सुरक्षा प्रणालीले त्यसको वास्तविक सुरक्षा निर्धारण गर्छ।

  • त्यसैले नेपालमा EV सम्बन्धी हरेक आगलागीको घटना गम्भीर रूपमा अनुसन्धान गरौँ।
  • दोषीलाई प्रमाणका आधारमा पहिचान गरौँ।
  • चालकलाई उचित प्रशिक्षण दिऔँ।
  • आयातकर्ता र वितरकलाई जिम्मेवार बनाऔँ।
  • प्राविधिक जनशक्तिलाई दक्ष बनाऔँ र नयाँ प्रविधिलाई अन्धविश्वासले होइन, ज्ञान र जिम्मेवारीका साथ प्रयोग गरौँ ।

अन्ततः भगवानको भरोसामा मात्र होइन, ज्ञान, प्रविधि, प्रशिक्षण र सावधानीमा पनि भरोसा गर्न सक्ने नेपाल निर्माण गरौँ ।

डा. कृष्ण पाण्डे
एमबीए, पीएचडी (सीएसआर), सीएफपी
प्रबन्ध निर्देशक
एक्सप्लोर होल्डिङ्स प्रा. लि.